Tuesday, March 17, 2020

बम देख्दैन

हुन त
बमको निधारमा
बम बनाउनेले लेखिपठाएको हुन्छ
पड्कनुपर्ने ठेगाना ।
तर , मान्छे झैँ हुन्छन् बम पनि
बनाउनेकै हातमा पनि पड्किदिन्छ्न्
बोक्नेकै काँधमा पनि पड्किदिन्छ्न् ।

बौलाउँदै छु

म बौलाउँदै छु बिस्तारै
फुलहरुको माला लगाएर आफू
काँडा मात्र दिन्छु प्रियसिलाई
म बौलाउँदै छु बिस्तारै ।
दुनियाँले ढल्यो भनेको धरहराको
टुप्पो सम्मै पुगेर चिच्याउँछु
"आगोले झैँ दन्दनी बालेर
मलाई खरानी पार्न सक्दैन भने
भो नगर त्यस्तो प्रेम "
म बौलाउँदै छु बिस्तारै ।
तिमिलाई प्रेम गर्नु
सन्सारकै सुन्दरतम् अनुभुती हो
तिमिलाई प्रेम गर्नु
सन्सारकै खतरनाक अनुभूति हो
कसरी एउटै कुरा
एकै पटक
यति खतरनाक र
यति सुन्दर हुन सक्छ?
म बौलाउँदै छु बिस्तारै ।

बाहरु

ऐनै ऐना
र , तराजु नै तराजुले भरिएको
काँडेतारको भकारीमा
कहिल्यै नओइलाउने एक धर्को मुस्कान रोपेर
टाकुरा उक्लिन्छ्न् बाहरु
र झरेपछी भुँईमा
दौडिरहेका झन्डाहरुको बिचको
ठूलो झन्डा देखाउदै
मेरो हो भन्छन् ।
तर कहिल्यै अग्लिएन झन्डा
बा अग्लिए जस्तो ।
बा! अब अर्को पटक उक्लनुपर्दा टाकुरा
आफ्नो निधारको तिलक
र आमाको आँखाको गाँजल मिसाएर
एउटा आँखा टाँसिदिनु झन्डामा ।

डर

आफ्नै मुटुमा
लात्ती उठाएर ड्याम्म हानेपछि
म झल्यास्स ब्युँझिएँ ।
अहो !
भोलीसंग डराएर
जति बेगले भाग्यो
उति चाडैं पुगिने रै छ भोलिमा ।
छ्या ! यो भाग्दा निस्केको पसिना त कस्तो गन्हाउने ;
ब्युँझिए पछि मलाई
आफ्नै जिउ डुङ्डुङ्ती गन्हायो ।

पिसाबको ढाप्

हर बिहान् ब्युँझने बित्तिकै
ओछ्यान् मै खोज्छु आफ्नो जिन्दगि
सिरानिमा भेट्छू केवल धूलो
सायद सापनाहरु टुक्रिंदा झरेका,
खाट्मुनि देख्छु खरानि
सायद आफ्नै निधार खालि देखेर
आत्महत्या गरेको भाग्यको चिताको खरानि,
खाटकै खुट्टाका बिचमा रैछ
सुरु अन्त्य केहि नबुझिने
घुम्ति नै घुम्ति परेकाे माकुराको जालो ।
अहो भेटियो जिन्दगि भनेर
जब त्यहि जालो समात्छु
बिलाउँछ हत्केलामै एक पित्को बनेर ।
म जब ‘जब जिन्दगि खोज्छु
तब रुन्छू त्यो बालक बनेर
जो ब्युँझने बित्तिकै
सपानामा भेटेको पैसा खोज्छ ओछ्यानमा
र केवल भेट्छ सपनामा फेरेको पिसाबको ढाप् !

गजल

लासले भन्यो म मर्दा मेरा आफ्ना त नरुनु पर्ने
गाला मुसार्दै गला रेट्ने पराई त नहुनु पर्ने

मेरै रगतले रङ्गिएर देउता बन्यो जुन ढुंगा
के पाप गरें मैले अब त्यसैलाई नछुनु पर्ने

उसले देखाउंदै खायो म हेरिरहें सहिरहें
अघाएपछी उसले दुधले हात चैं नधुनुपर्ने